अर्थमन्त्री शर्माद्वारा ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोगको अपेक्षा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला पूर्वाधारहरुको विकासमा अमेरिकी आर्थिक सहयोगको अपेक्षा गरेका छन् । मंगलबार राजधानीमा नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत आर।थम्प्सनसँग भेट वार्ता गर्दै अर्थमन्त्री शर्माले यस्तो अपेक्षा रहेको बताएका हुन् ।

युएसएड लगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे ।

त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको सन्दर्भ जोड्दै मन्त्री शर्माले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह समेत गरे । भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन समेत गरे ।

‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । चाहे त्यो महाभूकम्पका बेला होस् या त कोरोना महामारी लगायतका संकटका बेला, अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’

भेटका क्रममा राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातल गायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए ।

‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’ राजदूत थम्प्सनले भने । भेटका अवसरमा उनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको समेत बताए । रासस

प्रतिक्रिया दिनुहोस्