गुणस्तरीय स्वास्थ्य सेवाका लागि तीन खम्बे नीति : मन्त्री लामा



काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताएका छन् । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावस्यक रहेको बताए ।

स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरूप अघि बढेको उनको भनाइ थियो । उनले भने– “स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार रहेको छ ।” प्रदेश सरकारले बिरामीको चाप र आवश्यकता अनुसार बजेट विनियोजन गरेको उनले जानकारी दिए । कोरोना सङ्क्रमणपछि स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै उनले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेर सङ्घीयताको आभास दिलाउन कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रदेशका १३ जिल्लामा प्रदेशस्तरीय अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र रहेको बताउँदै उनले प्रादेशिक अस्पताललाई आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको बताए । स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहको समन्वय आवश्यक छ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जनताको सेवाका लागि स्वास्थ्य क्षेत्र महत्वपूर्ण रहेको बताए । स्वास्थ्य क्षेत्रमा भएका समस्या हटाउनका लागि उहाँहरूले मन्त्रीसँग आग्रह गरे । गुणस्तरीय सेवाका लागि जनशक्ति पर्याप्त हुन जरुरी रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाइँले भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको मातृ तथा बाल स्वास्थ्य क्लिनिक प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएपछि पुनः कार्यालयले सञ्चालन गर्न लागेको जानकारी दिए । यसअघि २७ वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले क्लिनिक सञ्चालन गर्दै आएकामा २०७६ सालदेखि भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अहिले स्वास्थ्य कार्यालय चितवनको नेतृत्व एवं भरतपुर महानगरको सहकार्यमा सञ्चालनमा ल्याइएको चापागाइँले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालयका दुई र भरतपुर महानगरका दुईजना स्वास्थ्यकर्मीले क्लिनिकबाट सेवा दिनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्