भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : नेता बस्नेत



भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताए ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडी बढिरहेको जानकारी गराए । ‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो ।’

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उहाँले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडी बढिसकेको दावी गरे । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उनले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिए । भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडी बढिसकेको उनले बताए ।

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए। जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाए ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य (नेपाल लोकतान्त्रीक फोरम केन्द्रीय सदस्य) हाल कांग्रेसका क्रियाशिल सदस्य प्रकाश ढकाल, सुनिल तज (नेपाल लोकतान्त्रीक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार), क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु (विपी कांग्रेसका जिल्ला सभापति), दिपक महत माओवादी केन्द्रका पूर्वजिल्ला सदस्य, बैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १ सय ४७ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्र्रवेश गरेका हुन् । केही समय अघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरुमा गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायतका दलहरुका १४७ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिव एक सय ५५ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, केन्द्र्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शसी जंग थापा, एमाले क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं. १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्यविनायक ‘क’ उम्मेदवार किरण थापा, लगायतले नवप्रवेशीलाई टीका लगाई एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शसी जंग थापा, एमालेका उम्मेदवार किरण थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्