प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गरेका हुन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ । सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत श्रृङखलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ ।

उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । सङ्ग्रहालयमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ ।

विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रूपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्