खेतबारीमा हालिँदैन प्राङ्गारिक मल



काठमाडौं । यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको स्थापना भएको दिनमा मनाउन सुरु गरिएको विश्व खाद्य दिवस नेपालमा समेत मनाउन थालेको चार दशक नाघेको छ ।

यस बीचमा खाना र खेतीपाती जोगाउन विश्वमा धेरै पहल भएका छन् । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनःजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ । तर कृषिको उब्जनी बढाउनका लागि न खेतबारीलाई पुग्ने प्राङ्गारिक मल उत्पादन हुन्छ न त उत्पादित अन्नले घरका भकारी नै भरिन्छ ।

नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष बिते पनि खाद्यान्नको अवस्था भने ओरालो झर्दै गइरहेको छ । दुई दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आँगनमा थाँक्रो देखिन्थ्यो । तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ । खाद्यका लागि कृषि अभियन्ता प्रमोद दाहालले कृषि रासायनिक र विषादीका कारण जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै रासायनिक मल र विषादी नरोकिए भावी सन्ततिमा पनि यही कृषि प्रणाली हस्तान्तरण हुने र उनीहरू पनि जोखिममा पर्ने बताए ।

अहिले सहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरमा समेत प्राङ्गारिक मल देख्न मुस्किल पर्न थालेको छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले केही वर्ष अन्न उत्पादन बढेजस्तो लागे पनि क्रमशः माटोमा अम्लियपना बढ्दै जाने र अन्न उत्पादन घट्दै गएकाले अन्न भण्डारण गर्ने भकारीसमेत गाउँमा देख्न नपाएको बेनी नगरपालिका–२ का ८९ वर्षीय खड्गबहादुर थापाले बताए । “बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट बिहान–बेलुकीको भान्छा उम्किन्छ”, ८७ वर्षीय बेदप्रसाद उपाध्यायले भने, “हाम्रो पालामा भकारीबाट धान झिकेर, ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चामल हुन्थ्यो, अहिले खेती गर्नै छाडे, कहाँबाट हुनु भकारीमा धान ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव शवनम सिवाकोटीका अनुसार उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिकरूपमा घटाउँदै विषादीको सन्तुलित प्रयोगका लागि सचेतना आवश्यक रहेको छ । नेपालमा अहिले पनि अधिकांश घरधुरी कृषिकर्मसँगै माटो खनी खोस्रिएर आफ्ना जिविका चलाउँदैछन् । अझै पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष संलग्न छन् । तर खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले जनाउँछ ।

स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानु अहिलेको खाद्यान्न व्यवस्थापनको चुनौती हो । संसारका न्यूनतम आर्थिक अवस्था भएका विपन्न वर्गमा कृषक, माछा मार्ने मान्छे र घरपालुवा जनावर पाल्ने छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृति अनि मौसमसम्बन्धी बारम्बार हुने प्रकोपले धेरै दुःख दिने गर्दछ । अर्कोतर्फ पृथ्वीको जनसङ्ख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ । बढ्दो जनसङ्ख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यावसायीकरण गर्न जरुरी देखिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्