
काठमाडौं । सुरेन्द्र प्रसाद ढकाल फाउण्डेशनले महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख सहयोग प्रदान गरेको छ ।
फाउण्डेशनका अध्यक्ष तथा नेकपा मालेको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र प्रसाद ढकालले आविष्कार केन्द्रले पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनको रुपमा विकास गर्न अनुसन्धान गरिरहेकोले सो को प्रमोशनका लागि आफ्नो सस्थाले उक्त सहयोग रकम प्रदान गरेको जनाए ।
पत्रकारहरु माझ उनले सो रकम हस्तान्तरण गर्ने क्रममा नेपालमा विद्युतीय सवारी साधनले जलबायु परिवर्तनको असरलाई रोक्न सहयोग पुर्याउने उल्लेख गर्दै सवै नेपालीले विद्युतीय सवारी साधन प्रयोग गर्नु पर्नेमा जोड दिए ।
यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले विद्युतीय सवारी साधन नै नेपालको अहिलेको आवश्यकता भएको बताए । नेपालमा विद्युतको उत्पादन बढ्दै गएको र सो विद्युतको खपत गर्न विद्युतीय सवारी साधन आवश्यक रहेको बताएका छन् । पुनले विद्युतीय सवारी साधनको प्रयोगले जलवायु परिवर्तनको समस्यालाई कम गर्न सहयोग पुर्याउने उल्लेख गरेका छन् ।
यसैविच सुरेन्द्र प्रुसाद ढकाल फाउण्डेशनले बर्षेनी करिव ४५ लाख रुपैयाँ बराबरको सहयोग विभिन्न संघसंस्था स्कूल, विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकाहरुको शिक्षादीक्षा तथा राष्ट्रको लागि योगदान गरेका ख्याति प्राप्त व्यक्तिहरुको सहयोगको लागि खर्च गरिरहेको जनाइएको छ ।





