राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित



काठमाडौं । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।

बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले बताए । उनका अनुसार, बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पु¥याएको छ ।

तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गरिएपनि निर्माण हुनसकेको छैन । बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा फेरि ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारुले बताए ।

उनका अनुसार, विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्ती नदीको पुरानो तटबन्धन भत्किएका कारण राप्ती नदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अति प्रभावित हुने भएकाले स्थानीयवासी त्रसित रहेका छन् ।

यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको वडाध्यक्ष थारुको गुनासो छ । तटबन्धन पूर्णरुपमा फुटेको खण्डमा ठूलो मानवीय क्षति हुनसक्ने भएकोले मर्मतको लागि प्राविधिक तत्काल खटाउन अनुरोध गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्