एउटै वडाका तीनजना प्रदेशसभा सदस्यको चुनावी मैदानमा



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपाका तीनजना आउँदो मंसिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी)बाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उमेदवार बनेका छन् । एउटै वडाका तीननेताले गएको आइतबार आ–आफ्नो राजनीतिक दलका तर्फबाट र्‍यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन् ।

पाँचकर्ण र राकेश साविकको बुइपा गाविस वडा नम्बर–२ का स्थायी बासिन्दा हुन् भने वीरबलकाजी साविकको बुइपा–१ का हुन् । पाँचकर्ण काका र राकेश नातामा भतिजा पर्छन् ।

बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उमेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एउटै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरूले संयोग भनेका छन् । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उमेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्त्वका साथ हेरिएको छ ।

उमेदवारी दर्तासँगै तीनै नेताहरू चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी २६ जनाको उमेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उमेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायत चटारो सुरु भएको छ ।

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौजनाको उमेदवारी दर्ता भएकामा एकजनाले फिर्ता लिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी गठनबन्धन भएको जिल्लामा गठबन्धनका उमेदवारविरुद्ध ‘बागी’ उमेदवार बनेका कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

वीरबलकाजी र राकेशले आ–आफ्नै पार्टीबाट उमेदवारी दिएका छन् । केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भए पनि ती दुई दलले जिल्लामा एक्लाएक्लै उमेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं १ नम्बर प्रदेशका खानेपानीमन्त्री रामकुमार राई तथा प्रदेशसभा ‘क’मा १ नम्बर प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका १ नम्बर प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राई चुनावी मैदानमा छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्युरो सदस्य विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा प्रदेश समिति सदस्य पाँचकर्ण राई र प्रदेशसभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई उमेदवार बनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य डा.कृष्णकुमार राई तथा प्रदेशसभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा ‘क’मा केशव राई र प्रदेशसभा ‘ख’मा ध्यानप्रसाद ढकालले उमेदवारी दर्ता गराएका छन् । मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ‘क’मा प्रयाग राई र प्रदेशसभा ‘ख’मा विमला राईले उमेदवारी दिएका छन् ।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उमेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा ‘ख’मा उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई, प्रदेशसभा ‘क’मा कांग्रेसका सुवासकुमार पोखरेल र धर्मराज पोखरेल तथा प्रदेशसभा ‘ख’मा कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उमेदवारी दर्ता गराएका थिए । ‘बागी’ उमेदवारी दिएका सुवासकुमारले आफ्नो उमेदवारी फिर्ता लिएका छन् भने धर्मराजको कायमै छ ।

प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा स्वतन्त्रसहित आठरआठ तथा प्रदेशसभा ‘ख’मा ६ गरी २६ जनाको उमेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए । उमेदवारी कायम रहेका नेतालाई चुनाव चिह्न समेत वितरण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्