
काठमाडौं । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलकी पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्।
उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगी संक्रमणको अर्को चिन्ताले पिरोलेको छ।
‘चिसो भुइँमा एउटा ओछ्याउन लगाउँछिन्, अनि सुत्छिन् त्यसपछि लामखुट्टेले उनलाई सुत्नै दिँदैन। रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ। उनी भन्छिन्- लामखुट्टेले सुत्न दिँदैन।
अर्की बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगी संक्रमणको जोखिममा छिन्।
उनले भनिन्, ‘घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु।’
उनीहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेंगीको जोखिममा परेका छन्।
नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन। यतिबेला उनको घर डुबिसकेको छ।
‘घरबाट केही सामान ल्याउन पाइएनु, उनले भनिन्, ‘यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भनिन्, ‘साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन्।’
यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताइन्।
‘झुलको व्यवस्था हुनुपर्छुु, उनले भने, ‘नत्र हामी सबै डेंगी संक्रमणको सिकार हुन्छौं।’
लगातार भइरहेको वर्षाका कारण विद्युत समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उनले बताइन्।
‘बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्’, उनले भनिन्, ‘बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन्।’
बाढीपीडितहरू डेंगी संक्रमणको जोखिममा परेको भन्दै उनले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गरिन्।
यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ। वडा तथा पालिका सरकारले तत्काल डेंगी संक्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ।
अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भई आश्रित छन्। रासस





