
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अंकले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख छ सय ९६ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शुन्य दशमलव १२ अंकले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अंकको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार आठ सय दुई बराबर रहेको छ ।





