
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पु¥याइएको थियो ।
राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गरे । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो । राष्ट्रिय खेलकुदको गरिमा र महत्वलाई दृष्टिगत गर्दै परिषद्ले पहिलो पटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो । ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी छन् ।
उनीहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियोगिता आयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताए । राष्ट्रमा खेलकुदको विशिष्ट महत्व रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिए । रासस





