सन्दीप गौशालामा, आइतबारमात्रै अदालत उपस्थित गराइने



काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

गौशालाबाट स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत्त गौशाला पुर्‍याइएको छ । उनलाई आइतबार अदालत उपस्थित गराइने छ । आजसम्म दसैँ बिदा र भोलि शनिबार भएका कारण अदालत बन्द छ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने बताइएको छ ।

राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्या गएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रूपमा स्वदेश फर्केका हुन् । केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसको केही दिनमा काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेलाई पनि उपस्थितिमा लागि स्वीकृति दिन सन्दीपले गरेको आग्रहलाई प्रहरीले स्वीकार गरेन । विदेशमै रहेका बखत सन्दीपले आफूले आत्मसमर्पण गर्ने र निर्देश साबित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्