भारतले आफै बनाएको लडाकु विमानको नाम राख्यो ‘प्रचण्ड’



काठमाडाैँ । भारतले आफ्नै पहल र प्रविधिमा नयाँ खाले हलुका हेलिकप्टरको विकास गरेको बताएको छ । भारतीय वायुसेनाले पहिलो खेपमा उक्त हेलिकप्टर बनाइएको जानकारी दिएको हाे ।

रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा साेमबार जोधपुरमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो । मन्त्री सिंहले हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखिएको बताएका छन् । हेलिकप्टरको इञ्जिन भारतीय एरोनटिक्स लिमिटेडले बनाएको हो ।

हेलिकप्टरको तौल पाँच हजार ८ सय किलोग्राम छ । साथै, २० एमएमको गोली प्रयोग हुने अत्याधुनिक हतियार र ७० एमएमको रकेट सिष्टमले सुसज्जित भएको बताइन्छ । सबै खालको मौसममा उडाउन मिल्ने र उच्च भूभागमा समेत प्रयोग गर्न मिल्ने बताइएको उक्त हेलिकप्टर सेनाको ‘अपरेसन’ मा सहयोगी हुने जानकारी पनि दिइएको छ ।

रिमोटबाट समेत उडाउन सकिने भनिएको उक्त हेलिकप्टरले दुश्मनको आक्रमणलाई आकाशबाट निस्तेज पार्ने दाबी गरिएको छ । यो हेलिकप्टर रातको समयमा समेत उडाउन मिल्ने सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्