किसान महासंघ, अभिभावक महासंघका अवधारणाकर्ता, सहकारी आन्दोलनका अगुवा धर्मदत्त देवकोटाको जीवनी



काठमाडौं । धर्मदत्त देवकोटा नेकपा एमालेका केन्द्रिय सदस्य, किसान महासंघ र राष्ट्रिय अभिभावक महासंघ जस्ता जनताको आधारभूत सरोकारको क्षेत्रका अवधारणाकर्ता सहित नेपालको सहकारी आन्दोलनका अगुवा समेत हुन् ।  पञ्चायती कालरात्रीमा कम्युनिष्ट पार्टीको कुरा गर्दा समेत अनेकौं यातना र दमनको सामना गर्नुपर्ने अवस्थामा समेत कम्युनिष्ट पार्टी मार्फत श्रमजिवी जनताको वर्गीय मुक्तिको आन्दोलनमा जोडिने कसम खाएका देवकोटाले २०३६ सालदेखि तत्कालिन कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (माले) को सम्पर्कमा रहि २०३७ श्रावणमा पार्टी सदस्यता लिई निरन्तर श्रमजिवी जनताको अधिकार र समृद्धीको लागि आफूलाई समाहित गरिरहेका छन् । भूमिगत कालमा नेकपा (माले)मा आवद्धमा भएर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका देवकोटा २०५० सालमा अखिल नेपाल किसान संघको केन्द्रिय सदस्य हुँदै सह–संयोजक र २०५४ सालमा नेकपा एमाले विभाजित हुँदा नेकपा मालेको केन्द्रिय सदस्य भई कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन योगदान दिईरहे । २०५८ सालमा भएको नेकपा एमाले र माले विचको पार्टी एकतापछि एमालेमा सक्रिय बनेका देवकोटा २०६६ सालमा पुगेर नेकपा माओवादीमा समाहित भए । कम्युनिष्ट आन्दोलनभित्र असल चरित्र र क्रान्तिकारीताको खोजी गर्ने क्रममा कहिले माले त कहिले माओवादी बनेका देवकोटा अहिले सबैभन्दा स्पष्ट विचार र भिजन भएको पार्टी नेकपा एमाले नै भएको ठम्याईपछि माओवादी केन्द्र छोडेर नेकपा एमालेमा समाहित भएका छन् । जनाधार र जनसंगठनमा सबैभन्दा सुदृढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको हाल केन्द्रिय कमिटी सदस्य एवम् बागमती प्रदेश सह–ईञ्चार्ज समेत रहेका देवकोटालाई २०७९ साल मंसिरमा हुन गईरहेको संघीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेद्वार समेत बनाएको छ । देवकोटाको जीवनका विभिन्न पाटाहरु समेटेर गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेख :

बाल्यकाल
आदिखोला गाउँपालिका वडा नं १, पञ्चमूल, स्याङ्जामा बुवा शिव नारायण देवकोटा र आमा खगीसरा देवकोटाको साईलो सन्तानका रुपमा जन्मिएका धर्मदत्त देवकोटाको प्रारम्भिक शिक्षा गाउँकै भाषा पाठशालाबाट शुरु भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएका देवकोटाले सानो उमेरदेखि नै घरेलु काममा सघाउनु पथ्र्यो । घरेलु कामको चापको कारण विद्यालय अध्ययन गर्ने दाजुभाइ एकैपटक पढ्न गएमा घरको काम प्रभावित हुने भएकोले एकदिन एक भाइ र अर्काे दिन अर्काे भाइ गरेर पालैपालो भाषा पाठशालामा प्रारम्भिक शिक्षा आर्जन गर्नुपर्थ्याे ।

शिक्षा
दिन बिराएर भाषा पाठशालामा अध्ययन गर्दा पनि देवकोटाले कहिल्यै कक्षामा दोस्रो हुनु परेन् । गाउँकै भाषा पाठशाला मार्फत कक्षा ४ उतिर्ण गरेपछि तात्कालिन त्रि–शहीद माध्यमिक विद्यालयमा कक्षा ५ भर्ना भएका देवकोटाले माध्यमिक विद्यालयमा समेत कहिल्यैं दोस्रो हुनु परेन । फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षामा प्रथम श्रेणीमा उतिर्ण गरेपछि देवकोटाको लगनशीलता र क्षमताको चर्चा आफ्नो गाउँमा मात्र होईन सिंगो जिल्लामा समेत हुन पुग्यो । कक्षा १ देखि एसएलसीसम्म प्रथम भएका देवकोटा २०३७ सालमा बुवाआमाबाट खर्च लिएर आयुर्वेद पढ्न भनी काठमाडौं हानिए । स्याङ्जाबाट पोखरा बसपार्कमा झर्ने बित्तिकै पार्टी नेता वामदेव गौतमसँग जम्काभेट भयो । विद्यालय पढ्दै वामदेव गौतमको निर्देशनमा पार्टी काम गरेका देवकोटाले बसपार्कको छेउमै बसेर गौतमसँग लामो कुराकानीको क्रममा आफू आयुर्वेद पढेर डाक्टर बन्न काठमाडौं हिडेको बताएका देवकोटालाई गौतमले भने, ‘तपाईलाई पार्टीले पूर्णकालीन भूमिगत कार्यकर्ता बनाएको छ । कम्युनिष्ट पार्टीमा धेरै प्रगतिशील डाक्टर भएको तर क्रान्तिकारी नेता नभएकोले वर्गीय मुक्तिको लागि तपाइँ पार्टीमा लाग्नुपर्छ ।’ भर्खरै फस्ट डिभिजनमा एसएलसी उतिर्ण गरेका अल्लारे युवालाई पार्टी नेताको वचनले साँच्चै बुर्जुवा शिक्षा छोडेर पार्टी आन्दोलनमा होमिएर जनताको सरकार बनाउने विचारले छोयो । उच्च शिक्षाको लागि काठमाडौं हिडेका देवकोटाको यात्रा त्यहिँबाट रोकियो । पार्टीका अग्रज नेताको विचारले थप प्रभावित बनेका देवकोटाले बुवाआमाले पढ्न दिएको खर्चले कम्युनिष्ट आन्दोलन र पार्टीका दर्जनौँ पुस्तकहरु किनेर घर फर्किए । घर फर्किएको केहि समयपछि वामदेव गौतमकै निर्देशनमा पार्टी नेता त्रिलोचन ढकाल देवकोटाको सम्पर्कमा पुगे । थप अध्ययन नगर्ने र वर्गीय मुक्तिको लागि पूर्णकालीन राजनीतिमा लाग्ने बताएर आमाबुवासँग बिदा भई २०३७ सालदेखि नै पार्टीको पूर्णकालीन भूमिगत कार्यकर्ता बन्न पुगे । समयक्रमसँगै बुर्जुवा भनिएको शिक्षा नै काम लाग्ने भन्ने बुझेर देवकोटाले प्राईभेट परीक्षा दिई बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि अर्थशास्त्रमा आईए उतिर्ण गरी स्नातक सम्मको अध्ययन गर्न सफल भए ।

पार्टी जीवनको शुरुवात
परिवार र समाजका अगुवाहरुको प्रेरणाबाट नभई माओका रेडबुक, किम ईल सुङ्गका जीवनी र पुष्पलालका विभिन्न पुस्तकहरुको स्वअध्ययन गरी कम्युनिष्ट पार्टीप्रति आकर्षित बनेका देवकोटा कक्षा ९ मा पढ्दादेखि नै अनेरास्ववियु पाँचौंमा जोडिन पुगे । ०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर श्रमजीवी जनताको पक्षमा आवाज उठाएका उनले तत्कालिन नेकपा मालेको सम्पर्कमा पुगी रेडगार्ड स्क्वाड पञ्चमूल गाउँ कमिटीमा कमाण्डरको रुपमा राजनीतिक यात्राको थालनी गरेका हुन् । पञ्चायती जन्जिरहरु चिर्दै स्वतन्त्रता र श्रमजीवी वर्गको राज्यसत्ता स्थापित गर्ने अठोटका साथ २०३६ असोज ६ गते नेकपा माले (पार्टी सदस्यता नं. ५९२) प्राप्त गरी ०३७ मंसिरबाट पार्टीको पूर्णकालिन भूमिगत कार्यकर्ताको रुपमा आफ्नो युवा अवस्थालाई कम्युनिष्ट आन्दोलमा होमेका देवकोटाले सोहि वर्ष स्याङ्जा जिल्ला संगठन कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरे । जिल्ला कमिटी सदस्यको रुपमा काम गर्दा पार्टीको विचार र सिद्धान्तलाई जनताको माझमा पुर्याउन खेलेको भूमिका र पार्टी संगठनमा पुर्याएको योगदानको कारण ०३९ मै उनलाई पार्टीले जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा बढोत्तरी गर्याे । देवकोटा लगायत पार्टी कमिटीका अन्य साथीहरुले पुर्याएको योगदानले स्याङ्जा जिल्लामा पार्टीको जनाधार बलियो भएकोले ०४२ सालको अन्त्यतिर कास्की जिल्लामा उपसचिवकै जिम्मेवारीमा सरुवा गरियो । भूमिगतकालिन पार्टीको संरचना आवश्यकता अनुसार परिवर्तन भई रहन्थ्यो । कास्कीमा जिम्मेवारी पाएपछि करिव १ वर्षको कामपछि पार्टीले फेरी ०४४ सालको शुरुतिर पश्चिम उत्तर क्षेत्रीय कमिटी (गण्डकी धवलागिरी) सदस्य एवं लमजुङ जि.क. सचिवको जिम्मेवारी दियो । पार्टी सचिवको रुपमा लमजुङ्गमा एक वर्षजत्ति काम गरेपछि ०४५ मा पुनः कास्कीको जिम्मेवारी दिई ०४६/०४७ को जलआन्दोलनको कास्की कमाण्डर बन्ने अवसर दियो । प्रजातान्त्रिक आन्दोलनको सफलतापछि ०४७ मा गोरखाको जिल्ला कमिटी सचिव बनाएका देवकोटाले सोहि अवधिमा २०४८ को निर्वाचनमा ३ नं. क्षेत्रको उम्मेदवार भई थोरै मतान्तरले पराजय भोग्नुपर्याे । पहिलो संसदीय निर्वाचनको अनुभवसँगै ०४९ मा गण्डकी अञ्चल कार्यालय सचिव बनेर २०५० मा नारायणी अञ्चल सरुवा भई अञ्चल कमिटी सदस्य तथा अखिल नेपाल किसान संघ (अनेकिसंघको केन्द्रिय सदस्यको समेत जिम्मेवारी पुरा गरे । अनेकिसंघको कमिटीमा रहँदा पार्टी नेता वामदेव गौतमसँग निकट सम्बन्ध बनाएका देवकोटाले किसान आन्दोलनमा २ वर्ष योगदान पुर्याएपछि ०५२ मा केन्द्रिय सह संयोजक भई किसान आन्दोलनमा योगदान पुर्याए ।

२०५० सालमा दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय हत्यापछि तात्कालिन नेकपा एमालेभित्र गुठ–उपगुठहरु जन्मिन थालेका थिए । जसको पछिल्लो परिणाम स्वरुप महाकाली सन्धिको विषयलाई लिएर तत्कालिन नेकपा एमाले विभाजित हुनपुग्यो । नेता गौतमसँग निकटस्थ देवकोटाले नेकपा एमालेको मुलाधारलाई छोडेर वामदेव गौतमको नेतृत्वमा ०५४ तत्कालिन मालेको केन्द्रिय कमिटी सदस्य र नारायणी तथा राप्ति अञ्चलको ईञ्चार्ज हुँदै अनेकिसंघको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । देवकोटा अध्यक्षको जिम्मेवारीमा रहँदै किसान महासंघ निर्माणको अवधारणाको विकास गर्दै पार्टी एकीकरणमा सक्रिय भुमिका निर्वाह गरे । पार्टी एकीकरणपछि नेकपा(एमाले) केन्द्रिय लेखा आयोग सदस्य भएका देवकोटा ०६५ को आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको केन्द्रिय कमिटीको उम्मेद्वार बनेपनि विजयी हुन सकेनन् । तत्कालिन नेकपा एमालेभित्रको आन्तरिक किचलोको कारण २०६६ पौषमा नेकपा माओवादी प्रवेश गरी केन्द्रिय सदस्य केही वर्ष पछि पोलिटब्युरो सदस्य बनेका देवकोटाले प्रचण्डको संयोजकत्वमा बनेको उत्पादन ब्यवस्थापन कार्यदल र डा.बाबुराम भटराइको  नेतृत्वको हेटौंडा महाधिवेशनको कार्यक्रम मस्यौदा समितिमा रहेर पार्टीको नीति निर्माणमा सक्रिय भूमिका खेल्नु भएको साथै पार्टीका नीति लाई समयानुकुल बनाउन योगदान गरे ।  पार्टी स्कूल विभागको सदस्य र सहकारी विभागको प्रमुख भई माओवादी पार्टीको निर्माण र जनसंगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरे । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट संघीय सांसदमा सिफारिस भएको तर डा. राजन भट्टराईले टिकट पाएपछि निर्वाचन परिचालन कमिटीको संयोजक भई निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टीको केन्द्रिय कमिटी सदस्य र सहकारी सम्बद्ध संगठनको ईञ्चार्ज भएका देवकोटाले राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋण केन्द्रिय संघको निर्वाचन कुशलता पूर्वक सम्पन्न गरे । पार्टीको एकीकरण पूर्णता नपाउँदै आन्तरिक कलह र विसर्जनतर्फ जान लाग्दा नेकपाको पार्टी एकता जोगाउन सक्रिय भूमिका निर्वाह गरेका देवकोटा सफल हुन सकेनन् । पार्टीहरु पूर्ववत् अवस्थामै फर्किएपछि नेकपा माओवादी केन्द्र खास गरी प्रचण्डको भूमिका चित्तबुझ्दो नभएपछि देवकोटा महत्वपूर्ण साथीहरुसहित आफ्नो पुरानो घर नेकपा एमालेमै प्रवेश गरी पार्टीको पोलिटब्युरो सदस्य सरहको बागमती प्रदेशको सह ईञ्चार्जको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

कम्युनिष्ट क्रान्तिकारीताको खोजी
विचारधारा परिवर्तन र क्रान्तिकारिताको खोजि, पार्टीभित्र अध्ययनशील र बौद्धिक मात्र होईन, पार्टी संगठकका रुपमा परिचित देवकोटा कर्म र परिणममा विश्वास गर्ने तर गुठबन्दि नगर्ने र नेताको वरिपरि नघुम्ने चरित्रको कारणपछि परेजस्तो देखिन्छ । कहालीलाग्दो भूमिगत अवस्थादेखि अनेरास्ववियु पाँचौँ हुँदै नेकपा मालेमा आवद्ध भएका देवकोटा २०५४ सालमा नेकपा माले बने । २०५८ सालमा नेकपा एमालेमा समाहित बनेका देवकोटा २०६६ सालमा नेकपा माओवादी केन्द्रमा जोडिन पुगे । पार्टी अन्तरसंघर्षको लाईन छोडेर कम्युनिष्ट नै भएपनि विभिन्न पार्टीमा लाग्नुलाई केही नेताले उनलाई अस्थिर चरित्रको रुपमा व्याख्या समेत गर्ने गर्दछन् भन्ने प्रश्नमा देवकोटाले भने, ‘नेपालका कम्युनिष्ट पार्टीहरु एकै भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । २०५४ सालमा वामदेव गौतमले गरेको पार्टी विभाजन प्रति मेरो असहमति थियो, पार्टी विभाजन जनताको चाहाना होईन् र राष्ट्रको आवश्यता पनि होइन् भन्ने लेख समेत लेख्नुभयो । यद्धपी अभिभावक मानेको व्यक्तिले पार्टी छोडेपछि धर्मसंकट नै परेर मैले नेकपा मालेलाई रोज्न पुगे । पछि नेकपा एमालेसँग मालेको एकीकरण गर्नुपर्छ भन्ने लाईनको नेतृत्व गर्दै २०५८ सालमा पार्टी एकता गर्ने अभियानमा लागें । वामदेव गौतमको क्रान्तिकारी छवि बिग्रिएर जव स्वार्थी मान्छेहरुको संगत गर्न थाले त्यसपछि मैले उहाँलाई समेत छोडे । नेकपा एमालेको महाधिवेशनमा हारेपछि जिम्मेवार विहिन बनेर बसेको थिए । हामीले २०३५/ ०३६ सालमा शुरु गर्न खोजेको सशस्त्र विद्रोह सफल हुन सकेको थिएन् । त्यसैले क्रान्तिबाट आएको पार्टी भएकोले माओवादी केन्द्रले मुलुकको परिवर्तनमा योगदान गर्न सक्छ भन्ने सोचेर अध्यक्ष प्रचण्डलाई भेट्न गए । उहाँले तपाई जत्तिको व्यक्ति माओवादी आन्दोलनमै लाग्नुपर्छ भनेपछि थप क्रान्त्रिकारी पार्टीको खोजीमा म माओवादी केन्द्रमा समाहित भए । माओवादी केन्द्रमा रहँदा एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने अगुवा पनि म हुँ । अन्तरपार्टी संघर्षले पार्टी विभाजन हुने अवस्थामा पुगेपछि पनि मैले त्याग गरेर पार्टी एकता जोगाउन अध्यक्ष प्रचण्डलाई सल्लाह दिएको थिए । तर त्यो सफल हुन सकेन् । कम्युनिष्ट पार्टी काँग्रेससँग मिलेको मलाई मन परेकै थिएन । अध्यक्ष ओलीलाई भेटेर पुनः पार्टी एकताको प्रयास गर्न अनुरोध गर्ने हिसाबले उहाँकै निवासमा गएको थिए । उहाँले प्रचण्ड र माधव नेपाल जस्ता अस्थिर, अवसरवादी, स्वार्थी र आत्मघाती व्यक्तिहरुसँग एकता गर्न सकिन्न बरु एमालेमै आउनुस् (जिम्मेवारी दिन्छु भनेपछि केहि दिन सोचेर जवाफ दिने भन्दै बाहिरिए । नेकपा एमाले अलि बिग्रियो कि भनेर क्रान्तिकारी छवि भएको माओवादी केन्द्रमा प्रवेश गरेको थिए । तर माओवादी केन्द्रमा देखिएको परिवारवाद, अस्पष्ट भिजन, अदुरदर्शिता र राष्ट्रियताप्रतिको धुमिल चरित्रको कारण त्यो पार्टीमा बस्नै मन भएन । अध्यक्ष ओलीका प्रष्ट र स्पष्ट अडान, पार्टीको बहुदलीय जनवादको प्रष्ट मार्गदर्शन सही दीर्घकालीन भिजन भएकोले साथीहरु सहित म पुनः एमालेमा समाहित भएको हुँ । काम गराईको दौरानमा देखिएका केहि कमजोरी, थप क्रान्तिकारी कम्युनिष्ट पार्टीको खोजी गर्ने क्रममा यताउता जस्तो देखिएपनि मैले कम्युनिष्ट आचारण र चरित्रमा असर पर्ने कुनै काम गरेको छैन । हिजोपनि म पार्टी एकताको पक्षमा थिए (आजपनि त्यहीँ अडानमा छु ।)”

पारिवारिक जीवन
देवकोटाले भने, ‘पार्टी नेता त्रिलोचन ढकालको सहजीकरण र व्यवस्थापनमा उहाँकै निवासमा पार्टी नेता वामदेव गौतमको प्रमुख आतिथ्यतामा शिक्षिका उमा हमालसँग २०४२ जेठ १६ गते जनवादी विवाह सम्पन्न भयो ।’ उमा हमालसँग पहिल्यै चिनजान थियो कि भन्ने प्रश्नमा देवकोटा भन्छन्, त्रिलोचन ढकाल कमरेड मेरो अभिभावक जस्तै हुनुहुन्थ्यो । पार्टी कामकै सिलसिलामा ढकाल कमरेड कै विद्यार्थी उमा कमरेडसँग मेरो भेट गराउनु भयो र दुवैजनाको कुरा मिलेपछि विवाह गराइदिनुभयो । देवकोटा परिवारका दुई सन्तान जेठा छोरा सुमन आर्किटेक्चर ईञ्जिनियर हुन भने कान्छा छोरा सुनिलले अमेरिकाबाट एमडी गरेका छन् ।

सामाजिक भूमिका
अखिल नेपाल किसान संघ हुँदै किसान महासंघ, सहकारी अभियान र शैक्षिक अभियान मार्फत देशको अधिकांश जिल्लाको संगठनमा जोडिएका देवकोटा सहकारी आन्दोनका समेत अग्रणी व्यक्तित्व हुन् । खासगरी सामुदायिक शिक्षाको स्तरलाई माथि उठाउनुपर्छ भनी नेपाल राष्ट्रिय अभिभावक संघ गठन गरेका उनले २ कार्यकाल केन्द्रिय अध्यक्षको जिम्मेवारी समेत बहन गरेका छन् । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको लेखा सुपरिवेक्षण समितिको संयोजक रहेका देवकोटा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार समेत हुन् । दुग्ध सहकारी संघ लि. राष्ट्रिय समितिको सल्लाहकार रहेका देवकोटा अहिले १० वटा घटक महासंघको प्रतिनिधित्व गर्दै अहिले नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक समेत हुन् ।

राजकीय भूमिका
किसान आन्दोलनका अगुवा देवकोटाले २०५१ र २०५६ मा गरी २ कार्यकाल नेपाल सरकार उच्च स्तरीय भुमिसुधार आयोगको सदस्य भई जिम्मेवारी बहन गरेका छन् । देवकोटाले नेपाल सरकारको राष्ट्रिय सहकारी विकास बोर्डको सह–अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका छन् । अभिभावक संघ र महासंघ मार्फत अभिभावक जागरण मार्फत गुणस्तरीय शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कारण उच्चस्तरीय पाठ्यपुस्तक उत्पादन तथा वितरण, छानविन तथा सुझाव समिति, उच्च स्तरीय शिक्षा आयोग ०७४, उच्च स्तरीय शुल्क निर्धारण समिति ०७० (नर्सिङ, हेल्थ र फार्मेसी), संस्थागत विद्यालय मापदण्ड तथा शुल्क निर्धारण समिति कार्यदल ०७३, प्राविधिक शिक्षा वैज्ञानिक शुल्क निर्धारण समिति ०७५ र अहिलेपनि योजना आयोगको शिक्षा हेर्ने सदस्यको संयोजकत्वमा गठित माध्यमिक शिक्षामा व्यवस्थापन, गुणस्तर अभिबृद्धि र प्रभावकारी सुपरिवेक्षण व्यवस्थाको सुझाव समिति ०७९, को सदस्यको जिम्मेवारीमा रहेर नेपालको शैक्षिक क्षेत्रमा योगदान पुर्याईरहेका छन् । 

विदेश भ्रमण
नेपाल सरकार मातहतका विभिन्न निकायमा जिम्मेवारी बहन गर्ने क्रममा कृषि, सहकारी, भुमिसुधार र शिक्षा सम्बन्धि सम्मेलन, गोष्ठी, अध्ययन भ्रमण मार्फत मेक्सिको, जर्मन, श्रीलंका, ब्राजिल, ईरान, स्पेन, चीन (हङकङ, हाकाओ), बंगलादेश, मोजाम्बिक, दक्षिण अफ्रिका, भारत (केरला, मद्रास, पश्चिम वंगाल, वैंगलोर, दिल्ली, हरियाणा, पंजाव), थाईल्याण्ड (तीन पटक), ईण्डोनेशिया, दक्षिण कोरिया, कतार, अमेरिका (भर्जिनिया, न्युयोर्क, केण्टकी, एटलाण्टा, वाशिङटन, मेरिल्याण्ड) जस्ता देश र राज्यहरुमा पुगेका देवकोटा जनताको परिश्रम र नेताको नेतृत्व क्षमताको कारण धेरैजसो देशहरु विकसित भएको धारणा राख्छन् ।

लेखन तथा प्रकाशन
नेपालको कम्युनिष्ट आन्दोलनमा लागेर आफूले प्राप्त गरेको अनुभवलाई समेटेर २०७५ सालमा देवकोटाले नेपाली मौलिकताको समाजवाद सफलताको आधारहरु नामक पुस्तक प्रकाशन गरेका छन् । उनको पुस्तकले खासगरी नेपालको नेपालको राजनीतिलाई, सु–संस्कृत, सुशासित बनाउँदै समाजवादका आधारहरु तयार गर्ने मार्ग दिशाहरु समेटेको देखिन्छ । त्यसैगरी देवकोटाले कृषि, भूमीसुधार, सहकारी, शिक्षा र समसामयिक विषय वस्तु समेटेर राजनीतिक एवम् सामाजिक संघर्षका अनूभूति तथा प्रतिविम्वहरु नामक पुस्तक २०६८ मा प्रकाशित गरेका छन् भने पार्टीका स्मारिका, पत्रिकाहरुमा समेत लेख/रचना प्रकाशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्