प्रतिगमन विरोधी शक्तिलाई मत दिन प्रचण्डको अपिल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।

दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो अपिल गरेका हुन् ।

‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु’, उनले भनेका छन् ।

प्रचण्डले हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गरेका छन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो’, उनले भनेका छन् ।

‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो’, शुभकामना सन्देशमा उनले भनेका छन्— ‘हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्