चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना



चितवन। मंसिर ४ गते हुने निर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

भरतपुर महानगरपालिका वडा नं १० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यस कार्यालयले चितवन क्षेत्र नं २ को समेत काम हेर्नेछ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक नवराज अधिकारी, सशस्त्र प्रहरी वल प्रहरी उपरीक्षक, मनोज थापा, निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीलगायतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो।

‘कार्यालय स्थापना भएसँगै मंसिर ४ गते हुने निर्वाचन अब प्रारम्भ भएको छ’ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले भने। उनका अनुसार असोज २१ गते जिल्लास्तरीय सर्वदलीय बैठक बस्नेछ। सर्वदलीय बैठकमा आचारसंहितालगायतको विषयमा छलफल हुनेछ।

असोज २३ गते मनोनयन दर्ताको काम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले असोज २० गते चितवन क्षेत्र नं १ र ३ को निर्वाचन कार्यालयको स्थापना हुने बताए।

उनले भने, ‘चितवन १ को निर्वाचन अधिकृतको कार्यालय खैरहनी नगरपालिकाको भवनमा खुल्नेछ। चितवन ३ को निर्वाचन अधिकृतको कार्यालय कृषि तथा वन विश्वविद्यालयको भवनमा स्थापना हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्