जनताको पक्षमा राजनीति गर्ने बेला आयो : रामवरण यादव



भक्तपुर । पूर्वराष्ट्रपति डा.रामवरण यादवले जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।

आज काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस २०७९ मा उनले सम्बोधन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका हुन् ।

‘गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?’, पूर्वराष्ट्रपति डा.यादवले भने, ‘राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ ।’

भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उनले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उनको योगदान ठूलो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्