मुस्ताङमा प्लास्टिक झोलाको विकल्पमा कार्टुनको प्रयोग



काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो।

किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए।

विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउका कार्टुन अनुदानमार्फत् वितरण गरिएकामा त्यसबाट अपेक्षित उपलब्धि नभएपछि अहिले पाँच किलो क्षमताको काटुर्न वितरण गर्न लागिएको हो।

उक्त कार्टुन अब भने सही सदुपयोग हुने विश्वास लिइएको जनाउँदै अध्यक्ष लालचनले भने, ‘विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउको कार्टुन सीमित व्यक्तिले मात्रै माग गर्ने गर्दथे।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २० किलोको कार्टुन वितरण गर्दा धेरैले दोहोरोपनको फाइदासमेत उठाएको उनले बताए।

पालिकाले यस कार्यक्रमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको र किसानको मागअनुसार उक्त कार्यक्रमअन्तर्गत छ हजार तीन सय ५० कार्टुन ल्याइएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन्।

पालिकाभित्रका पाँच वटै वडामा मागबमोजिमको अनुपातमा कार्टुन वितरण हुने उनले बताए।

पाँच किलोको कार्टुन दसैं तिहार जस्ता महान चाडमा आफन्त, इष्टमित्र, साथीभाइलाई स्याउ लगायतका समान कोसेलीका रूपमा पठाउन मिल्ने जनाइएको छ।

पाँच किलोको कार्टुन प्लास्टिकको विकल्पका रूपमा उपयोग हुने बताउँदै उनले यी कार्टुनलाई किसानले ७५ ५ अनुदानमा प्रति कार्टुन रु १३ रुपैयाँ तिर्नुपर्ने जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्