ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी



काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी समयअनुसार आइतबार राति सकिएको हो । उक्त खेलमा सिन्सिनाटीका नेपाली भाषी युवाको टिम चुकेले आफ्नो प्रतिस्पर्धी पेन्सिलभेनिया राज्यको ह्यारियवर्ग सहरका नेपालीभाषी युवाको टिम एफसी युनाइटेडलाई १–० ले हराउँदै जीत हात पारेको थियो ।

अमेरिकी समयानुसार आइतबार अपराह्न भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा चुकेका जर्सी नं ७ का रोशान्डोले एक गोल गरेका थिए । उनले हाफ टाइमअघि पाएको कर्नर किकको सदुपयोग गरी बल गोलपोस्टमा छिराएका थिए । सयौँ दर्शकले भरिएको सिन्सिनाटीको मायामी ह्वाइटवाटर सकर कम्प्लेक्स खेल मैदानमा भएको सो खेलमा विजयी चुके क्लबले १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

त्यसैगरी उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पाएको सो प्रतियोगिताका संयोजक राजन चुहानले जानकारी दिए । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विजयी टिमलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । उनले अमेरिकामा भएका नेपाली भाषी भूटानी तथा सबै नेपाली भाषी समुदायलाई खेलका माध्यमबाट आफ्ना सन्ततिलाई अनुशासित बनाउन तथा अमेरिकामा प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए ।

महिलातर्फ विजयी कोलम्बस स्टारले सात हजार पाँच सय डलर पाएको छ । त्यसैगरी भेट्रान विजेताले आठ हजार अमेरिकी डलर जितेको छ । महिलातर्फ १–० गोल अन्तरले पराजित भई उपविजेता बनेको नर्थ डकोटा साइनिङ स्टार फुटबल क्लबले पाँच हजार अमेरिकी डलर पाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्