कर्णाली प्रदेशको पहिलो कार्यकालमा रु ५० करोड खर्च



काठमाडौं । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पुँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ ।

चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ ।

सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ । सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताउनुभयो । प्रदेशसभाले रु २३ लाख ३० हजार छ सय १० राजस्व आम्दानी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्