
काठमाडौं । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।
यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विवाद हुदै आएको थियो । सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो । सरकारले कानुन संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसदको कार्यकाल तोक्न बाध्य भएको थियो ।
प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको तयारी छ ।





