
काठमाडौं । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरिन् ।
खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय ९इन्डक्सन० चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्याससँगै विद्युतीय चुलो प्रयोग गर्ने निधो गरेँ”, उपभोक्ता शर्माले भनिन्, “पहिलो महिना त धेरै विद्युत् महशुल उठ्छ कि भन्ने चिन्ता थियो तर ग्यासभन्दा निकै सस्तो प¥यो, अहिले भातदाल विद्युतीय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।”
ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उनले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने उल्लेख गरिन् ।
बागलुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्रीकर्ताले बताए । विद्युतीय चुलोे धेरै पहिलेदेखि नै बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बागलुङ बजारको शङ्कर इलेक्ट्रिोनिक्सका सञ्चालक शङ्कर नकर्मीले बताए ।
“पहिला विद्युतीय चुलोमो जुनसुकै भाँडा मिल्दैनथ्यो, भाँडा छुट्टै खरिद गर्दा महँगो र झन्झट थियो तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाँडा प्रयोग गर्न मिल्छ”, उनले भने, “अहिले ग्यास चुलोभन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ता दोब्बरले वृद्धि भएका छन्, अहिले बागलुङ बजारवासीका अधिकांश भान्छामा विद्युतीय चुलोसमेत प्रयोगमा आएको देखिन्छ ।” नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहतसमेत मिलेको छ । रासस





