
काठमाडौं । लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्नेगरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सम्पन्न गर्नेगरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ ।
गत महिना ठेक्का भएकामा अहिले पेश्की दिइएको र कम्पनीले काम सुरु गर्न लागेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ । यसअघिको निर्माण कम्पनीले गरेका निर्माणमा केही भाग मात्रै स्वीकार गरिएको उनले बताए । उनले भने, “दुवैतिरको पिलर थोरै मात्रै बाँकी रहन्छ ।”
यसअघि पप्पु कन्सट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो । कम्पनीले गुणस्तरीय काम नगरेपछि सडक विभागले ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार नयाँ निर्माणका लागिसमेत कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।
‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन प्रालीको लापरबाहीका कारण अलपत्र बनेको थियो । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।
सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । सो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो ।
पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्नेगरी ‘डिजाइन एण्ड विल्ड’ मार्फत निर्माण अघि बढाइएको हो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ ।
पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लागेको छ । यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । रासस





