सिट बाँडफाँट नटुङ्गिदै बूढानीलकण्ठमा गठबन्धनको चुनावी फण्डा



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ अन्तगर्तका ८ वडा समेटिएको बूढानीलकण्ठ नगरपालिकामा गठबन्धनले आगामी निर्वाचन लक्षित गरी चुनावी फण्डा ल्याएको छ । बूढानीलकण्ठका १०, ११ र १२ वडामा रहेका करिव ३३ हजार मतदाता प्रभावित पार्न चुनावको सिजन पारेर प्रचारमुखी अभियानको रुपमा उक्त फण्डा ल्याईएको हो ।

नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद गगन थापा र तत्कालिन नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य कुसुम कुमार कार्की सहितको टोलीले काठमाडौं उपत्यका विकास प्राधिकरणमा धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनाको पहिलो बैठक सम्पन्न गरेको छ ।

काठमाडौं क्षेत्र नं. ४ मा नै निर्णायक मत रहेको कपन क्षेत्रको डुवान समस्यालाई चुनावी मुद्दा बनाउने उद्देश्यले कपन डुबान समस्याको दीर्घकालीन समाधानका लागि सांसद थापाको पहलमा नयाँ आयोजनामार्फत काम गर्ने प्रक्रिया अघि बढेको हो भनी एक स्थानीय मिडियाले झ्याली पिट्न सुरु गरिसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणमा बोर्ड टाँसिएको दिनमा नै कपनको ९० प्रतिशत डुबान समस्या समाधान भएझैं सांसद थापाको देवत्वकरणमा उत्रिएको उक्त अनलाईनले डुबानको समस्या गम्भीर र साना आयोजनाबाट यसको समाधान नहुने बताउँदै थापाले नै यसका लागि विशिष्ट आयोजनाको परिकल्पना गरेका हुन् भनी फलाक्नुसम्म फलाकेको देखिन्छ ।

यसअघि नेकपा एमालेका केन्द्रिय सदस्य एवम् परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पहलमा पारिएको १६ करोड भन्दा बढी लागतमा निर्माणधिन बक्स कल्भर्टको आयोजनालाई प्रभावित पार्नेगरी बजेट काटिएकोमा खुल्ला रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले ‘आफ्नो सरकार र प्रधानमन्त्री  हुँदापनि परेको बजेट काटिदा समेत चुईक्क नबोल्ने यस्ता नालायकहरु भोलि प्रधानमन्त्री हुँदा कसरी बन्छ देश’ भनी प्रश्न गरेका थिए ।

बूढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचत नगरप्रमुख मिठाराम अधिकारीले एक सार्वजनिक कार्यक्रममा १८ महिनाभित्र कपनको डुबान समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । नगरप्रमुख अधिकारीले, ‘कपन डुबान क्षेत्र मुक्त गर्नुपर्छ भन्ने विषय आफूले नीति तथा कार्यक्रममै पास गरिसकेको’ बताएका छन् । सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका सांसद गगन थापाले नगरप्रमुखको अभिव्यक्तिलाई लत्याई केही महिनापश्चात ‘धोबीखोला करिडोर तथा कपन बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ सार्वजनिक गरेका थिए । मानौं अब उनले स्थानीय सरकारसँग सहकार्य नै नगरी डुबान समस्याको समाधान गर्नेछन् ।

हरेक सुख्खायाममा कपनको डुवान क्षेत्रमा आएर फोटो सेसन गर्दै करिव १४ वर्ष बिताएका र ५ वर्ष गुमनाम जस्तै रहेको काठमाडौं ४ (२) का प्रदेस सभा सदस्यको संयुक्त गठबन्धन सरकारको पहलमा ल्याउन लागिएको परियोजना आसन्न निर्वाचन केन्द्रित राजनीतिक फन्डाका रुपमा चित्रित गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस्

किर्ते मतदाता फण्डामा बूढानीलकण्ठ काँग्रेसमाथि नै प्रतिप्रश्न ?

प्रतिक्रिया दिनुहोस्