लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन्।

जनकपुरधाममा शनिबार आयोजित पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले संघीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको दाबी गरेका थिए।

अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए।

उनले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारेका थिए।

मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने बताए। रासस

प्रतिक्रिया दिनुहोस्