
काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न अनुमति दिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति आएको बताए । आयोगले निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको थियो ।
निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको छ । हाल सातै प्रदेशका लागि मतपत्र छपाइ भइरहेको छ भने प्रतिनिधि सभातर्फको मतपत्र छपाइ सुरु हुन बाँकी रहेको उनले जानकारी दिए ।
प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लगाइसके पछि मात्रै छापिने आयोगले जनाएको छ । प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने आयोगले जनाएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।





