नेकपा एमाले काठमाडौं ४ (२) बाट उद्धव खरेल र गोविन्द कटुवालको दावेदारी फिर्ता



काठमाडौं ।  नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ बाट संघीय सांसदमा डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस भएपनि ४ (२) बाट प्रदेशसभा सदस्यमा आकांक्षा राखेका बूढानीलकण्ठ नगरपालिकाका पूर्व नगरप्रमुख उद्धव खरेल र जिल्ला कमिटी सदस्य गोविन्द कटुवालले आफ्नो दावी फिर्ता लिएका छन् ।

नेकपा एमालेका एक जिल्ला कमिटी सदस्यका अनुसार जिल्ला कमिटीले आयोजना गरेको आकांक्षी उम्मेद्वारहरुको छलफलमा प्रदेश कमिटी सदस्य समेत रहेका खरेलले कपन क्षेत्रबाट टिकट दिने भए जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इञ्चार्ज लक्ष्मी संग्रौला र कपन बाहिरको क्षेत्रबाट दिने भए जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्कालाई आफूले समर्थन गर्ने बताए ।

नेकपा एमाले निर्वाचन क्षेत्र नं. ४ (२) ले आयोजना गरेको आकांक्षी र पार्टी कमिटी अध्यक्ष, सचिवसहितको छलफलमा पटक–पटक अवसर पाएका व्यक्तिलाई फेरी टिकट दिन नहुने भन्दै वडाअध्यक्ष र सचिवहरुले विरोध गरेपछि निर्वतमान नगरप्रमुख खरेलले प्रदेशसभा सदस्यको दावी छोडेको एक जिल्ला कमिटी सदस्यले परिवर्तन खबरलाई बताए ।

परिवर्तन खबरसँगको कुराकानीमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सचिव गोविन्द कटुवालले काठमाडौं क्षेत्र नं. ४ (२) मा आफू भन्दा सिनियर नेताहरु धेरै भएकोले आफूले दावी छोडेको बताए ।

प्रतिक्रिया दिनुहोस्