बूढानीलकण्ठ कार्यपालिका सदस्यसहित ७५५ मतदाताको नाम काटिएपछि जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधिको धर्ना



काठमाडौं । अघिल्ला निर्वाचनहरुमा मतदान गरेका बूढानीलकण्ठ नगरकार्यपालिका सदस्य मेन्दुक शेर्पासहित ७५५ मतदाताहरुको मतदाता नामावलीमा रहेको नाम काटिएपछि नगरप्रमुख मिठाराम अधिकारीसहित सबै वडाध्यक्षहरु जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिन पुगेका छन् ।

काठमाडौंमै जन्मिएर दुई वटा निर्वाचनमा मतदान गरिसकेका मतदाताहरुसहित नेकपा एमाले समर्थक मतदाताहरुलाई लक्षित गरी २४ घण्टे अल्टिमेटम सहित विवरण सार्वजनिक गरेपछि जनप्रतिनिधि सहित नेकपा एमालेका नेता कार्यकर्ता जिल्ला निर्वाचन कार्यालय पुगेका थिए ।

आगामी मंसिर ४ गतेको प्रदेश तथा संघीय निर्वाचनमा पराजय भोग्ने निश्चित जस्तै भएपछि बेनामे उजुरीका आधारमा स्थानीय मतदाताहरुलाई फोन मार्फत धम्कीसहित २४ घण्टाभित्र उपस्थित हुन उर्दी जारी गरेपछि बाध्य भएर नगरप्रमुख अधिकारीसहित क्षेत्र नं. ४ भित्रपर्ने ८ वटै वडाका वडाध्यक्षहरु जिल्ला निर्वाचन कार्यालय पुगी मतदाताहरुको प्रमाण जुटाईरहेका छन् ।

नेकपा एमाले बूढानीलकण्ठ नगरकमिटीले जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै अघिल्ला निर्वाचनहरुमा मतदान गरिसकेका मतदाताहरुलाई बदनियतपूर्वक दुःख दिईएको भन्दै यदि निर्वाचन कार्यालयले आफ्नो निर्णय नसच्याएमा नेकपा एमाले कानूनी उपचारमा अगाडि बढ्ने नेकपा एमालेका नेता तथा काठमाडौं ४ (२) प्रदेश सभाका सशक्त दावेदार अधिवक्ता जयराम थापाले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्