
काठमाडौं । सर्लाहीमा नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गा.वि.स. ५ घर भई हाल काठमाण्डौ महानगरपालिका-२६ बस्ने ३२ वर्षिय हिरामान लामा हुन् ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाइ पक्राउ गरेको हो ।
उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका-३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो । उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँसमेत सशस्त्र प्रहरीले फेला पारेको थियो ।
उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।





