नागरिकता विधेयकबारे छलफल गर्न कांग्रेस पदाधिकारीकाे टाेली शीतल निवासमा



काठमाडौँ । राष्ट्रपति र सरकारबिच दूरी बढेको बेला नेपाली कांग्रेसका पदाधिकारीको टोली शीतल निवास पुगेकाे छ ।

नागरिकता विधेयक बारे छलफल गर्नका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसहितकाे कांग्रेस पदाधिकारीकाे टाेली शीतल निवास पुगेकाे हाे ।

भेटघाटमा नागरिकता विधेयकका सम्बन्धमा कुराकानी हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । कांग्रेस पदाधिकारीको अहिले २ बजे शीतल निवास पुगेकाे हाे ।

कांग्रेस पदाधिकारीहरूमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की सहभागी रहेका छन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेकी थिइन् । त्यसपछि प्रतिनिधि सभाले उक्त विधेयक हुबहु पारित गरेको थियो । विधेयक अहिले राष्ट्रिय सभामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्