
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् । त्रिभूवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई उनले निर्देशन समेत दिए ।
‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भिर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु’, ’ सभामुख सापकोटाले भने ।
यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए । बैठकमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाए ।
विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने ज्ञवालीको भनाई छ । त्रिभूवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने उनले बताए ।





