
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले महिलाहरु घर मात्र हैन, देश चलाउन पनि सक्षम रहेको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम आँक्न नहुने बताइन् ।
२१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै संग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेको जोड दिइन् ।
‘२१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर छन्। घर चलाउन मात्रै हैन, देश चलाउन पनि सक्षम छन् । तर, नेतृत्वले उनीहरुलाई कम आँक्नु भएन’, उनले भनिन् ।
संग्रौलाले आशन्न संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई प्रतिष्पर्धा गर्ने अवसर दिन पनि राजनीतिक दलका नेतृत्वहरुलाई आग्रह गरेकी छन् ।
‘आउँदो मंगसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा बढीभन्दा बढी महिलाहरुलाई प्रत्यक्ष तर्फ चुनाव लड्न अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु’, उनले भनिन् ।





