
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले यस प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने बताए ।
आफैं उम्मेद्वार घोषणा गर्दै हिड्नु भनेको बेहुला बेहुलीको ठेगान नहुँदै भाेज खाँदै हिडे जस्तो हुने अध्यक्ष ओलीको भनाई छ । पहिलो पटक मतदान गर्न लागेका युवाहरुलाई विशेष ध्यान दिन केन्द्रीय सदस्यहरुलाई आग्रह पनि गरेका छन् ।
‘आफूले आफूलाई उम्मेदवार घोषणा गर्ने होइन, पार्टीले उठाए चुनाव लड्ने, नत्र अर्को उम्मेदवार जसलाई पार्टीले उठाउँछ उसलाई जिताउने हो । पार्टीलाई हराउन लागे सैह्य हुँदैन’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य कमला बोहोराले भनिन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाललाई एमालेको विचार प्रवाह गर्ने र पार्टीको पक्षमा जनतालाई प्रष्ट पार्ने माध्यमका रुपमा उपयोग गर्नसमेत निर्देशन दिए । पार्टीको नीतिविपरीत नहिँड्न र बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत ओलीको आग्रह छ ।
घनश्याम भुसाल लगायतका नेतालाई जवाफ दिदै ओलीले भने– ‘तरवार लिएकासँग मित लाउन सकिन्न । एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरु कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरुसँग् एकता र सहकार्य हुन सक्दैन ।’





