अब ‘बा’हरुलाई विदा गरौँ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब विदा गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सभामा उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् ।

‘पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके’, उनले भने ।

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको उनको भनाई थियो ।

यस्तै रविले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताए । विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको उनको भनाई थियो ।

सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै उनले एक्ला एक्लै चुनाव लड्न चुनौती दिए । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने— ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं बाहिरका विभिन्न स्थानमा भेला गरेपछि शनिबार राजधानी काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले अहिलेका राजनीतिक दल र ती दलका नेताहरूलाई आलोचना गर्दै आफूलाई निर्वाचनमा मत दिन आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्