
काठमाडौं । राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।
काठमाडौं महानगरपालिका भवन निर्माण विभागक एक अधिकारीले कन्सुलर सेवा विभागसमेत रहेको यो भवनको नक्सा पास नै नरहेको बताए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो ।
नक्सा पास नभई भवन बनाएपनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र बेसमेन्ट खाली गराइरहेको छ ।
‘यसअघि पनि मेयर साहले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो । तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन’, महानगरका ती अधिकारीले भनेका छन् । विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपलिका वा नगरपलिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।





