
काठमाडौं । काठमाडौं महानगरपालिकाले यतिबेला अवैध रुपमा बनाइएका संरचना भत्काउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ‘बालेन’को उपस्थितिमा डोजरसहितको टोलीले काठमाडौंमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन थालेको हो ।
मेयर बालेन नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाईरहेको छ । बुधबार महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा अवैध रुपमा बनेका संरचना भत्काइसकेको छ ।
महानगरले न्यूरोडको रञ्जना गल्लीभित्र बनेका भवनहरु समेत भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्साविपरीत बनाइएका संरचनाहरुलाई भत्काइएको महानगरले जनाएको छ ।
यसबीच विहिबार महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेपछि उक्त अवैधा संरचनामा महानगरले डोजर चलाएको हो ।
त्यस क्रममा अल्फाबिटाका प्रतिनिधिले मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा अल्फाबिटाका प्रतिनिधिले उल्टो महानगरमा हुनुपर्ने बताए । त्यस क्रममा चर्काचर्की पनि भएको थियो ।
विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेपछि अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर, महानगरको टोलीले त्यसलाई नसुनी अवैध रुपमा बनाइएको सटर हटाएको हो । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको हो ।
मेयर बालेनले अल्फा हाउसका संचालकले नक्सा मागेपछि आफू नक्सा र डोजर लिएर गएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेन्द्रले भनेका छन्- ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए। मैले के बिराएँ ।’
यस्तै बालेनले यस्ता खाले अन्य अवैध रुपमा बनाइएका संरचना हटाउन आग्रह समेत गरेका छन् । बालेनले फेसबुकमा लेखेका छन्- ‘अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’
अल्फाबिटाको भुईंतल्लामा अल्फा केयर फार्मेसी, कफी सप लगायतका व्यवसाय सञ्चालन भैरहेका छन् । महानगरले अल्फा बिटाको भुईतल्लाको नक्सा पार्किङका लागि पास भएको भन्दै भत्काउने निर्णयमा पुगेको हो । महानगरले उक्त संरचनामा डोजर चलाएपछि त्यहा उपस्थित उनका केही समर्थकले बालेनको पक्षमा नारा समेत लगाएका थिए ।





