
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अल्फा बिटाका सञ्चालकसँग जंगिएका छन् । बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबेटा पुगेका मेयर बालेनले अल्फाबेटाले पार्किङका लागि बनाएको संरचनामा व्यापारिक प्रायोजनको संरचना बनाएपछि त्यसलाई हटाउन भने ।
त्यसक्रममा बालेनले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर, शर्माले नक्सा आफूसँग नभएको भन्दै पन्छिन खोजेपछि मेयर बालेन र सञ्चालक शर्माबीच चर्काचर्की परेको हो ।
मेयर बालेनले प्रमुख शर्मासँग जंगिदैं भने- ‘तपाईको घरको नक्सा मसँग हुन्छ कि तपाई सँग हुनुपर्छ । यहाँ यत्रो नोटिस दिएको छ । के हो यो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको होइन ? तपाईंको घरको नक्सा म सँग हुन्छ ?’ त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर बाहिरिएका थिए ।
काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ । ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो ।
बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएको थियो । त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन् ।





