दिनदिनै एमालेमा प्रवेश गर्नेहरूको ताँती छ : विष्णु रिजाल



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेमा प्रवेश गर्नेहरूको ताँती लागिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत दिनदिनै एमालेमा प्रवेश गर्नेहरूको ताँती लागिरहेको बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीको दृढ नेतृत्वका कारण एमालेको लोकप्रियता झन्झन् बढिरहेको उनको जिकिर छ । ‘दिनदिनै नेकपा एमालेमा प्रवेश गर्नेहरूको ताँती लागिरहेको छ । आज पनि कुनै पार्टीमा आकर्षण छ भने एमाले मै छ,’ उनले भनेका छन्, ‘एमाले सत्तामा छैन, चौतर्फी घेराबन्दीमा छ, प्रतिक्रियावादीहरूले यसका विरुद्धमा अनेक षड्यन्त्र जारी राखेका छन् । तर, अध्यक्ष कमरेड केपी शर्मा ओलीको दृढ नेतृत्वका कारण एमाले को लोकप्रियता, स्वीकार्यता र आवश्यकता झन्झन् बढिरहेको छ ।’

सत्ता गठबन्धनतर्फ संकेत गर्दै नेता रिजालले राजनीतिमा असफल भइसकेकाहरूको गठजोडबाट सफलता प्राप्त नहुने तर्क गरे । ‘सबल नेतृत्व कि भागवण्डा ? अग्रगमन कि यथास्थिति ? राष्ट्र निर्माण कि अधोगति ? राष्ट्रिय स्वाभिमान कि आत्मसमर्पण ? समृद्धि कि टालटुल ? सबल सरकार कि भ्यागुताको धार्नी ? जस्ता विषयमा जनमत सङ्ग्रहका रूपमा हुन गइरहेको प्रदेश तथा संघको निर्वाचनमा नेकपा (एमाले) लाई विजयी बनाउन अरूको वैसाखी होइन, आफ्नो शक्तिको सुदृढीकरण, कार्यकर्ता पङ्क्तिको उच्च मनोबलसहितको सक्रियता र जनतामाथिको भरोसा नेकपा (एमाले) का लागि मुख्य आधार हुन्,’ उनले अगाडि भनेका छन्, ‘ जसरी परीक्षामा अनुत्तीर्ण भएकाहरूको नम्बर जोडेर डिस्टिंक्सन आएको मान्न सकिन्न, त्यसैगरी राजनीतिमा असफल भइसकेकाहरूको गठजोडबाट सफलता प्राप्त हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्