देशमा पूरा संघीयता आएकै छैन : मुख्यमन्त्री राई



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अझै पनि देशमा पूरा संघीयता नआइसकेको बताएका छन् । मंगलबार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले सबै अधिकार केन्द्रले राखेर प्रदेश र स्थानीयलाई निम्छरो बनाएको बताए । सानो सानो काममा पनि सिंहदरबार नै ताक्नुपर्ने बाध्यता कायमै रहेको उनको भनाई छ ।

‘हामीले लोकल रक्सी ब्रान्डिङका कुराहरु खुबै चर्चामा ल्यायौँ । तर लोकल रक्सीको ब्रान्डिङ गर्न हामीले कुनै उद्योग खोलौँ न भन्दा प्रदेशलाई अधिकार नै छैन, खोल्नै पाइँदैन’, उनले भने । बेलायतमा त्यहाँस्थित गोर्खाहरुले कोदोको लोकल रक्सी ब्रान्डिङ गरिरहेका बताउँदै नेपालमा भने अवस्था उल्टो रहेको उनले बताए ।

मुख्यमन्त्री राईले- ‘हामीकहाँ त उद्योग दर्ता गराउन खोज्दा पनि पाइँदैन। सबै अधिकार सिंहदरबारले बोकेर बसेको छ । हामीसँग विभिन्न ठाउँमा खनिज छन् तर त्यो अधिकार संघलाई छ, हामीले छुन पनि पाउँदैनौँ ।’

सडक विस्तारका लागि दायाँ बायाँको जग्गा अधिग्रहणका लागि समेत केन्द्र अन्तर्गतकै वन विभागको मुख ताक्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।

यस्तै, मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामकरण टुङ्गो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताए । यस अघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरूलाई जिम्मा लगाएको उनले दाबी गरे ।

उनले भने- ‘नाम टुङ्ग्याउने विषयमा पनि एउटा त संघको डिजाइनको नाममा नै पहिचानको कुरा उठेको नै थियो । केन्द्रको निर्देशनको परिकल्पना छैन । नाम टुङ्ग्याउने विषयमा संविधानमा । ह्वीपको परिकल्पना पनि छैन । ४ वटा विषयमा ह्वीप लाग्ने भन्ने जुन मान्यता छ, त्यसमा पनि यो विषय पर्दैन । तेस्रो नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ? तपाईंहरूलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो । त्यति बेला घोषणा गर्न नसक्ने, अघि देखेर छाती थाप्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? अर्को सांसदलाई आलोचनाको शिकार बनाउने ? यी कारणले गर्दा नाम राख्न अप्ठ्यारो भएको छ ।’ उनले अहिल्यै संघीयतको मूल्यांकन गरेर संघीयता असफल भयो भन्ने नमिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्