नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि मैदान खोजी



विराटनगर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलको लागि मैदानको निरीक्षण थालिएको छ । प्रदेश खेलकुद विकास बोर्डले खेलकुद प्रतियोगिता गर्न सकिने खालका मैदानहरूको निरीक्षण शुरु गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्ड र प्राविधिक सहितको टोलीले प्रदेश १ को झापा, मोरङ र सुनसरी सहितका जिल्लामा गर्न सकिने छनौट खेलको मैदानको अवस्थाको निरीक्षण थालेको हो । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राविधिक टोली सहित झापाका विभिन्न खेलमैदानको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

छनौट प्रतियोगिता आयोजना गर्नसक्ने सम्भावित मैदानको बारेमा जानकारी लिन टोलीले झापाको खेल मैदानहरूको अवस्थाको बारेमा जानकारी दिएको सदस्य सचिव वाग्लेले बताए । खेलकुद विकास बोर्डको टोलिले झापाको चन्द्रगढिमा रहेको मेची रङ्गशाला, रङ्गशाला सँगै रहेको कभर्डहलको निरीक्षण गरेको छ ।

मेची रङ्गशालाको कभर्डहलमा उसु, कबड्डी र खो-खो छनौट खेलगर्न सकिने झापा जिल्ला खेलकुद विकास समितिले जानकारी गराएको थियो । बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउँदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाई राम्रो पुरस्कार सहित सम्मान गर्ने योजना रहेकोले छनौट खेलमा त्यसैलाई आधार मानेर जानु पर्ने वाग्लेले बताए ।

टाेलीले झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । टोलीमा बोर्डका सदस्य शैलेसकुमार विष्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक उषा कर्ण र कार्यालय प्रमुख चण्डिका बास्तोलाको सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्