नवौँ खेलकुदका लागि गण्डकी सरकारले साढे ३ करोड दिने



पोखरा । गण्डकीका विभिन्न जिल्लामा हुने नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन गण्डकी सरकारले साढे ३ करोड दिने भएको छ ।

खेलाडीको प्रशिक्षण, खेल सामग्री खरिद, खेलाडी छनोट लगायत कामका लागि ३ करोड ४६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले सरकारसँग माग गरेको थियो । साढे ३ करोड रुपैयाँ निकासा गइसकेको अर्थमन्त्री रामजी बरालले जानकारी दिए ।

खेलकुद मन्त्रालयले भने ५ करोड बजेट मागेको थियो । तत्कालका लागि साढे ३ करोड दिएको र आवश्यक परे अझै थप्न सकिने बरालको भनाइ छ । सरकारले चालू वर्षको वार्षिक कार्यक्रममा नै डेढ करोड विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद प्रदेशको गौरवसँग जोडिएकोले उत्कृष्ट खेलाडी उत्पादन गर्दै सफल बनाउन आफूहरू निरन्तर लाग्ने बताए ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा खेलकुद हुँदै छ । शुक्रवारदेखि गण्डकी प्रदेशका खेलाडी छनोट र प्रशिक्षण सुरु भैसकेको छ ।

पहिलो चरणमा १४ खेलको खेलाडी छनोट अघि बढेको र बाँकी २२ खेलका लागि खेलाडी छनोट केही समयपछि सुरु हुनेछ । ३६ प्रतिस्पर्धा र २ प्रदर्शनी सहित ३८ खेल राष्ट्रिय खेलकुदमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्