काँग्रेस नेता प्रदीप गिरिको अपराह्न अन्त्येष्टि गरिने



काठमाडौँ । समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिने भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राति साढे ९ बने निधन भएको हो ।

अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजेसम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेसले जनाएको छ । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको दाहसंस्कार गरिनेछ ।

सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् ।

नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् । गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए । तर पटक पटक सांसद बनेका गिरी मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित भएनन् ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्