नेकपा एसका दर्जनौं नेता, कार्यकर्ता एमालेमा प्रवेश (फोटो फिचर)



काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका ७ नं. वडा कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण तथा शुद्धिकरण अभियान प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य, क्षेत्रीय पदाधिकारी लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पाखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा,  जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइँकेल, जिल्ला कमिटी उपसचिव तेज प्रसाद ढकाल लगायतले नेकपा एसका जिल्ला कमिटी सदस्य तथा पूर्व जनप्रतिनिधि, क्षेत्रीय उपसचिव, वडा नं. ७ कमिटीका अध्यक्ष र सचिव सहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितीका सदस्यहरुलाई अविर तथा खादा लगाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला सचिवालय सदस्य निर्मला पुडासैनी, क्षेत्रीय कमिटी उपसचिव सन्तोष तिमिल्सिना, ७ नं. वडा कमिटिका अध्यक्ष आशिष श्रेष्ठ, सचिव मुकुन्द अधिकारी, उपसचिव अरुण पोखरेल, उपसचिव रमला नेपाललगायत वडा कमिटिका १४ सदस्यहरु सहित विभिन्न टोल कमिटीमा रहेका ५६ जना रहेका छन् ।

नवप्रवेशी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सदस्य फणिन्द्र कुमार सैंजु साविक महाँकाल गाविसमा दलीय प्रतिनिधिका रुपमा योगदान पुर्याएका बूढानीलकण्ठ नगरपालिका वडा नं ९ का पुराना नेता हुन् । त्यस्तै निर्मला पुडासैनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा नं ७ को सदस्यमा विजयी जनप्रतिनिधि हुन् । नेकपा एमालेका पूर्व वडा सचिव समेत रहिसकेका आशिष श्रेष्ठले २०७९ को स्थानीय तह निर्वाचनमा वडा नं. ७ को सदस्य पदमा नेकपा एसका उम्मेदवारहरुमा लोकप्रिय मत प्राप्त गरेका थिए ।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीको अध्यक्षता रहेको कार्यक्रमको संचालन रामकृष्ण पौडेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रेणु गिरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्