राप्ती साहित्य परिषदमा पाँच लाख राशीको पुरस्कार अक्षयकोष स्थापना



रुकुम (पश्चिम) । मुसिकोट नगरपालिका- ४, सोलाबाङ, रुकुम (पश्चिम) निवासी साहित्यकार पूर्ण ओलीसहितको कयनपानी ओली परिवारले आफ्नी दिवङ्गत आमा योगमाया ओलीको ४५ औँ दिनको पुण्यतिथिमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) मा रु ५ लाख राशीको ‘योगमाया ओली स्मृति लोकसाहित्य पुरस्कार’ स्थापना गरेकाे छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) द्वारा यही २०७९ साउन ३० गते रुकुम (पश्चिम) को मुसिकोट नपा-४ सोलाबाङमा आयोजित परिषद्को नियमित कार्यक्रम ‘रुकुम साहित्यमाला’ को ९५ औँ श्रृङ्खलाको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो।

राप्ती साहित्य परिषद्, जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका केन्द्रीय सचिव साहित्यकार गिरीप्रसाद बुढाले ‘मृत्यु तथा जन्म संस्कारमा फजुल खर्च नगरी आफूसँग भएको रकम यसरी सिर्जनशील कार्यमा लगाएर ओली परिवारले समाजलाई राम्रो शिक्षा दिएको’ विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि अक्षयकोष संस्थापक राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओली, मृतक योगमाया ओलीका पति यक्कबहादुर ओली, साहित्यकार एक्कबहादुर केसी, परिषद्का जिल्ला सल्लाहकार तथा आहा सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्का, प्राइम टाइम टेलिभिजनका संवाददाता भरत चन्दलगायतले आफ्ना विचारहरू राखेका थिए ।

अक्षयकोषको प्राप्त ब्याजबाट प्रतिवर्ष ७० प्रतिशत रकम अर्थात् रु. ३५,०००।- कर्णाली प्रदेशको लोकसाहित्य, भाषा, संस्कृति, कलाको क्षेत्रमा योगदान दिने एकजना व्यक्तित्वलाई पुरस्कृत गर्ने तथा बाँकी ३० रकम गाउँकै स्थानीय विद्यालयमा अध्ययनरत दुईजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय भएको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

कर्णाली क्षेत्रको लोकसाहित्यमा गहिरो अभिरुची राख्नुका साथै विद्यालय व्यवस्थापन एवं सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका योगमाया ओलीमा अन्तरनिहित प्रगतिशील विचारको चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य राखिएको उक्त कार्यक्रममा कवि, कलाकारहरूले मृतक योगमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा रचनाहरूसमेत वाचन गरेका थिए ।

परिषद्का सल्लाहकार मेगराज खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का रुकुम शाखा सल्लाहकार मुकुन्दप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्