हर्क साम्पाङले एक सय दिनमा के-के काम गरे ?



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन् ।

मेयर भएपछि एक सय दिनभित्र के—के काम गरियो ? भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका हुन् ।

मेयर राईले बिहीबार फेसबुकमार्फत सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै उनले उल्लेख गरेका छन् ।

‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ । चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन् ।

यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्। ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें । बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ । योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्।

साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको उनको भनाई छ । हर्क स्वतन्त्र उम्मेदवारी दिई धरानको मेयर निर्वाचित भएका थिए ।

यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरण

–नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें

-४ ठाउँबाट खानेपानीको मूहान थपें । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

-६ लाख विरुवा रोपें

-सरसफाइमा देखिने सुधार ल्याएँ

-शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

-प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

-जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें

-बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन

-लागु औषध विरुद्धको अभियान शुरु गरें

-योजनाहरुका लागि बजेटको जोहो गराएँ

-पारदर्शी हिसाब किताब सार्बजनिक गरें

-पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइ दिएको मेयर हर्क साम्पाङले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्