राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज



काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा भाग नलिने भएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने बताएका हुन् ।

‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ’, सभापति रबिले भने । जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको उनले बताए । ‘यतिबेला हामीले देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गरेको अवस्थामा छौँ । पार्टी घोषणापछि देश दौडाहा गरेर वडासम्म आफूलाई विस्तार गर्न सफल भयौँ । यो क्रममा हामीलाई हजारौँबाट सुझाव प्राप्त भएको छ । अधिकांश सुझावमा प्रदेश संरचनाप्रतिको असन्तुष्टि व्यापक रुपमा देखिएको छ ।’

संघीयताको तीन तहमध्ये बीचको संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकतामा चरम निराशा देखिएको उनले बताए । ‘हाम्रा भेलामा सहभागी अधिकांशले प्रदेश संरचनाको आलोचना गरेका छन् । एउटा राजनीतिक दलले नागरिकको आवाज नसुन्ने भन्ने हुँदैन । हामीले नागरिकको आवाज सुन्ने मात्रै होइन त्यो समस्याको समाधानको उपाय समेतको खोजी गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘संघीयताभित्रको स्थानीय निकायलाई अझै अधिकारसम्पन्न बनाउनुपर्छ र बनाउन सकिने कुराहरु आएका छन् । प्रदेश तहको अहिलेको संरचना केबल राज्यकोषको दोहोन गरेर नेता व्यवस्थापन गर्ने थलो बनाइएको छ ।’

प्रदेश सरकार र संरचनाको यही स्वरुप कायम हुनु भनेको यो तह राष्ट्रिय ढुकुटी खर्च गर्ने थलोबाहेक केही नहुने उनको तर्क छ । तर आफ्नो पार्टी प्रदेश संरचना खारेजीकै पक्षमा भने नरहेको उनको भनाई छ ।

‘कैयौँ मानिसले यसको खारेजीको माग गरेका छन् । हाम्रो पार्टी खारेजी होइन सुधार चाहन्छ । खर्चिलो बनाएर राज्यको ढुकुटी सक्नुभन्दा यसलाई सुधारेर जान आवश्यक छ’, उनले भने— ‘यथास्थितिमा प्रदेश सरकारमा हुनुभन्दा नहुनुले राज्यको सम्पत्ति जोखिन्छ भन्ने हाम्रो ठहर छ । यही संरचनामा हामी प्रदेश निर्वाचनमा सहभागी हुनु भनेको राज्यकोषको दोहनमा सहभागी हुनुबाहेक अरु केही हुँदैन ।’ उनले अगाडि भने, ‘हामी व्यवस्थाविरुद्ध छैनौँ । सुधारको चाहना राख्नु व्यवस्था विरुद्धमा होइन । प्रदेश संरचनालाई कम खर्चिलो बनाउन भूमिका खेल्न चाहन्छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश संरचना कस्तो बनाउने भन्नेबारे प्रस्ताव अघि सार्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने उल्लेख गरेको छ । सोही मुख्यमन्त्रीले निर्वाचित भएपछि फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने र उनैले जिल्ला प्रमुखहरु नियुक्त गर्ने रबिको प्रस्ताव छ ।

उनले यसरी गरिने नियुक्ति समावेशी हुनुपर्ने प्रस्ताव छ । उदाहरणका लागि मधेसमा ८ जिल्ला छन् । जहाँ एक मुख्यमन्त्री, एक उपमुख्य मन्त्री र आठ जिल्ला प्रमुख रहने उनको प्रस्ताव छ । सही मोडल सबै प्रदेशमा लागू हुने उनले बताए । यस्तै हाल कायम सबै प्रदेश मन्त्रालय खारेज गरिनुपर्ने पनि प्रस्ताव अघि सारेको छ । मुख्यमन्त्रीले राष्ट्रपतिसँग सपथ लिने व्यवस्थाको प्रस्ताव पनि स्वतन्त्र पार्टीले गरेको छ ।

हालको प्रदेश सभा खारेज गर्ने, त्यसको ठाउँमा गाउँपालिका सदस्यहरुबाट समानुपातिक समावेशीताका आधारमा प्रदेश परिषद् गठन गर्ने, प्रदेश परिषद्को बैठक वर्षमा २ पटक बस्ने, त्यसरी बैठक बस्दाको भत्ता बाहेक अरु सुविधा दिन नहुने रबिको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्