उषाकिरणलाई संसदीय चुनावमा उठाउने एमालेको तयारी



काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागका सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा निर्वाचनमा उठाउने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेको स्रोतको भनाई छ । उनलाई हालै मात्र काठमाडौं जिल्ला कमिटीको सदस्य मनोनित गरेको एमालेले उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरेको छ ।

भण्डारीसँगै कमिटीमा रहेका एमालेका एक नेताका अनुसार उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने एमालेको बुझाई रहेको छ ।

काठमाडौं महानगरमा सुनिता डंगोलको उपमेयर उम्मेदवारी सफल भएको उदाहरण पार्टीभित्र चलिरहेको ती नेताको भनाई छ । भण्डारीलाई काठमाडौं २ मा लैजाने एमालेको तयारी छ ।

यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने एमाले नेताहरुको बुझाई छ ।

भण्डारीले भने आफ्नो उम्मेदवारीबारे कुनै निर्णय नभएको दाबी गर्दै त्यसबारे चर्चा गर्न चाहेका छैनन् । उनले उठ्नेबारे कुनै निर्णय भएको नभएको र त्यो पार्टीको कुरा भन्दै आफुले कुनै इच्छा पनि देखाएको बताएकी छन् ।

अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् । मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।

स्रोतका अनुसार भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा आउन एमाले अध्यक्ष ओलीले नै जोड गरिरहेका थिए ।

राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताको भनाई छ । तर, भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ दिएको बुझिनेछ ।

प्रतिक्रिया दिनुहोस्