काेराेना उपचार केन्द्रबाट कैदी फरार



काठमाडौँ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट एकजना कैदी फरार भएका छन् ।

कोरोनाको उपचारार्थ केन्द्रमा भर्ना भएका उनी बुधवार राति फरार भएका हुन् । फरार कैदी विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास रहेको प्रहरीले जनाएको छ ।

बैङ्किङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्