महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने



काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्ने छन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, दीपाले भनिन् उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी छन् । उनले गोकुलम केरेला क्लबबाट खेल्ने छन् ।

प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो । दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताए । उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताइन् ।

यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्