आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने : इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था



काठमाडौँ । निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोधसमेतको कार्यक्रम सञ्चालन हुने बताए ।

सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।

प्रतिक्रिया दिनुहोस्